ज्वाला देखि रिदम सम्मको यात्रामा श्याम बराल

फिल्म क्षेत्रमा लागेर सुख भन्दा बढि दु:ख पाउने प्राबिधिकहरूको कथा धेरै सुन्नमा आउँछ । अधिकांशले फिल्मकर्मीबाट नै शोषित पिडित भएको कथा सुनाउँछन् तर यहाँ यस्ता प्राबिधिक पनि छन् जो यो क्षेत्रमा लागेर दु:खको मुख देख्न पाएका छैनन् ।

धनुषाको लालगढबाट काठमाण्डौ आई बि.सं. २०४८ साल देखि फिल्म क्षेत्रमा मेकअप म्यानको काम गर्दै आएका श्याम बराललाई अहिलेसम्म दु:ख परेको छैन । १०० भन्दा बढि फिल्ममा कलाकारहरूलाई चम्काउने भुमिका निर्वाह गरेका श्यामले पैसा धेरै कमाउन नसकेपनि खुसी छन् । भन्छन्, 'बुढेसकालमा दु:ख नपाउने गरी केहि पैसा कमाएको छु । जति कमाएको छु त्यसमा म सन्तुष्ट छु ।'

शुरूमा असिस्टेन्ट भई काम गरेका श्यामले मुकुन्द बस्ताकोटीको फिल्म ज्वालामा पहिलो पटक कलाकारको मेकअप गर्ने मौका पाए । त्यो बेला उनले २५ हजार जति पारिश्रमिक थापेका थिए । अहिले उनी विकाश आचार्यको फिल्म रिदममा व्यस्त छन् । यो २० बर्षे दौरानमा उनले एउटा फिल्मबाट १ लाख ५० हजार सम्म पारिश्रमिक पाए । श्याम भन्छन्, 'केहि साता अगाडी सकिएको छड्केले मलाई १ लाख ५० हजार दियो तर मैले प्राय ६० देखि ७० हजार लिने गरेको छु ।' आफ्नो परिश्रमलाई बुझ्ने फिल्मकर्मीहरू रहेकाले पनि आर्थिक रूपमा संकट बेहोर्नु नपरेको उनको भनाई छ ।

आफूले गर्ने व्यवहारले अहिले सम्म कुनै पनि कलाकार तथा प्राबिधिकसँग नराम्रो नभएको बताउँदै श्याम थप्छन्,'सबैको माया पाएको छु र आगामी दिनमा पनि पाउँछु भन्ने आश छ ।' तुलसी घिमिरे र विकाश आचार्यसँग काम गर्न धेरै सहज भएको बताउने श्याम परिवारको सहयोग र साथले पनि अहिले सम्म यो क्षेत्रमा टिक्न सकेको बताउँछन् । शरिरले सकुञ्जेल यहि क्षेत्रलाई आफ्नो कर्मथलो बनाउने श्यामले तेस्रो र चौथौ नेफ्टा अवार्डमा क्रमश सुन्दर मेरो नाम र जीवनमृत्युबाट अवार्ड पनि थापे ।

अशोक रोक्काबाट मेकअपको काम सिकेका श्यामले मोहनी, सौभाग्य, हत्या, यो मायाले लैन सतायो, परेली, लहना, दुई किनारा, फूल, सुन्दर मेरो नाम, जीवनमृत्यु, कुसुमे रूमाल-२ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...
© Copyright 2012 Nepalilink4u.com All rights reserved. Designed by Deepak Bastola